फागुन १३ गतेबाट ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने



लामो समयदेखि प्रतिक्षा गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आगामी फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलवार नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले चलचित्रलाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । यो कोरोनाको सबैभन्दा बढी मारमा परेको चलचित्र हो ।

२०७६ सालको फागुन २३ गते चलचित्रले पहिलो पटक प्रदर्शन मिति घोषणा गरेको थियो । यही मितिमा बलिउड चलचित्र ‘बागी ३’ आउने भएपछि चलचित्रले फागुन ३० गतेलाई प्रदर्शन मिति तय गर्‍यो । तर, प्रदर्शनको संघारमा कोरोना संक्रमण फैलिएपछि चलचित्रको रिलिज रोकियो । दोस्रो चरणको बन्दाबन्दी अन्त्यपछि माघ १९ गतेलाई चलचित्रको प्रदर्शन घोषणा गरिएको थियो ।

तर, पुनः कोरोना संक्रमण फैलिएको भन्दै सरकारले माघ ३ गतेबाट हल बन्द गर्ने निर्णय गरेपछि चलचित्र फेरि रिलिज हुन पाएन । फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते प्रदर्शन गर्न लागिएको हो । सुदर्शन थापा निर्देशित तथा निर्मित चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu