फागुन १ गतेबाट ‘चपली हाइट ३’ फेरि प्रदर्शन हुने



कहिले कोरोना कहर त कहिले विदेशी चलचित्रका कारण पटक-पटक प्रदर्शन मिति सरेको चलचित्र ‘चपली हाइट ३’ गत पुष ३० गतेबाट हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले गर्दा निमातालाई आर्थिक रुपमा ठूलो मार पर्‍यो ।

प्रदर्शनको तीन दिनमा चलचित्रले दर्शकको अपेक्षाकृत साथ पाउन सकेको थिएन । तर, समीक्षकले चलचित्र रुचाएका कारण माउथ पब्लिसिटीले हलमा दर्शकको चाप बढ्ने आश निर्माण टिमलाई थियो । तर, प्रदर्शनको तीन दिनमै हलहरु बन्द भएपछि चलचित्रको प्रदर्शन रोकियो । यद्यपि, हल खुलेपछि फेरि चलचित्र प्रदर्शन गर्ने अडानमा निर्माता अर्जुन कुमार थिए ।

सीसीएमसीसीको सिफारिसमा फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘चपली हाइट ३’ लाई फेरि प्रदर्शन गरिने भएको छ । अर्जुन कुमारले विज्ञप्ति जारी गर्दै चलचित्र पुनः प्रदर्शनमा आउने जानकारी दिँदै आफूले दोस्रो मौका पाएको बताएका छन् । उनी दोस्रो मौकामा चलचित्रलाई दर्शकले साथ दिनेमा विश्वस्त छन् । चलचित्रले भ्यालेनटाइन डेको फाइदा उठाउन सक्ने विश्वास लिइएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय छ । निकेश खड्का निर्देशित क्राइम थ्रिलर चलचित्रमा आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत र पुरुषोत्तम प्रधानको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu