अभिनेता अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’ मा उनी अनुबन्ध भएका हुन् । केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । बुझिए अनुसार, अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा चलचित्र साइन गरेका हुन् ।

चलचित्रमा अनमोल लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिए । चलचित्रको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । यसअघि चलचित्र ‘क्याप्टेन’ मा अनमोलले दीवाकरको निर्देशनमा काम गरेका थिए । त्यसअघि चलचित्र ‘ड्रिम्स’ मा पनि दीवाकरले अनमोललाई एक्सन कट गरेका थिए ।
चलचित्र ‘एक्स ९’ को छायांकन तत्काल नहुने भएपछि अनमोलले ‘हनी बनी’ साइन गरेका हुन् । चलचित्रमा उनको अपोजिटका लागि निर्माण टिमले अभिनेत्री खोजिरहेको छ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने चलचित्रको लागत ७ करोड अनुमान गरिएको छ ।


