अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीत सार्वजनिक भएको छ । स्वर्गीय शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौकी’ लाई मिश्रण गरेर तयार गरिएको गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।

नेपालको पर्यटकीय गन्तव्य शे-फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा चलचित्रका मुख्य नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर छन् । भिडियोमा उनीहरुको केमेस्ट्री निकै सुहाएको देखिन्छ भने शे-फोक्सुन्डोको मनोरम दृश्यले मन लोभ्याउँछ । सञ्जय लामाको छायांकन पक्ष प्रशंसायोग्य छ । शे-फोक्सुन्डोमा छायांकन भएको ‘ए मेरो हजुर ४’ पहिलो चलचित्र हो ।
शुक्रवार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा झरना थापाले आफूले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई साधारण तरिकाले पस्किने गरेको बताइन् । उनले अब चलचित्र ‘भागवत गीता’ बनाएपछि मात्र ‘ए मेरो हजुर ५’ निर्माण गर्ने पनि जानकारी दिएकी छन् । बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । अनमोल र सुहाना चलचित्र राम्रो बनेकाले दर्शकलाई मन पर्नेमा विश्वस्त देखिएका छन् ।


