जब सपनीमा श्रीकृष्णले अनमोललाई ‘किप इट अप’ भने…



अभिनेता अनमोल केसीले अभिनय गरेको नयाँ चलचित्र ‘ए मेरो हजुर ४’ आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा उनले दोस्रो पटक अभिनेत्री सुहाना थापासँग काम गरेका छन् । शुक्रवार चलचित्रको शिर्ष गीत सार्वजनिक गरियो । गीतमा चलचित्र ‘ए मेरो हजुर’ मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा अनमोलले ‘ए मेरो हजुर’ का स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झिए । निधन हुनु अघिल्लो रात आफ्नो सपनीमा आएर श्रीकृष्ण श्रेष्ठले ‘किप इट अप’ भनेको सम्झिँदै उनले भने, ‘सपनामा म कतै चलचित्रको छायांकन गरिरहेको थिएँ, छायांकनस्थलमा श्रीकृष्ण श्रेष्ठ सर आउनुभयो । उहाँले मलाई ‘किप इट अप’ राम्रो गरिरहेका छौ, यसरी नै राम्रो गर्नु भन्नुभयो । सपनामा मैले यति मात्र याद गरें ।’

तर, बिहान ब्यूझिँएर सामाजिक सञ्जाल खोल्दा श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर सुनेपछि आफू स्तब्ध भएको अनमोल सम्झन्छन् । उनी भन्छन्, ‘उहाँ (श्रीकृष्ण श्रेष्ठ) को निधनको कुराले म स्तब्ध भएको थिएँ । जसलाई मैले सपनामा देखेँ, उहाँ अब यो संसारमा हुनुहुन्न भन्ने कुराले मलाई स्तब्ध बनायो । अहिले पनि यो कुरा भनिरहँदा म काँपिरहेको छु ।’

श्रीकृष्ण श्रेष्ठ र झरना थापाले अभिनय गरेको फिल्मको दुईवटा पार्टमा अभिनय गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् । उनले अगाडि भने- ‘मैले आजसम्म ड्याडीको गीतको रिमेकमा काम गर्न पाएको छैन । श्रीकृष्ण श्रेष्ठ सरले अभिनय गर्नुभएको गीतको हुक लाइनमा अभिनय गर्न पाएँ, आफूलाई भाग्यमानी ठानेको छु । उहाँले हेरिरहनु भएको छ भने मलाई विश्वास छ कि उहाँले मेरो काम मन पराइरहनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu