पुनः प्रदर्शनमा आए ‘चपली हाइट ३’ र ‘कठपुतली’



कोरोना संक्रमण बढेको भन्दै तेस्रो पटक माघ ३ गतेबाट बन्द भएका सिनेमा हलहरु आजबाट खुलेका छन् । एक महिनापछि खुलेका हलहरुमा प्रदर्शनकै क्रममा रोकिएका दुई नेपाली चलचित्र ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः प्रदर्शनमा आएका छन् । हल बन्द हुँदा ‘चपली हाइट ३’ तीन दिन मात्र प्रदर्शन हुन पाएको थियो भने ‘कठपुतली’ को तेस्रो हप्तामा प्रदर्शन रोकिएको थियो ।

‘चपली हाइट ३’ र ‘कठपुतली’ लाई पुनः प्रदर्शनमा मल्टीप्लेक्सहरुले उच्च शो दिएका छन् । फागुन १३ गतेभन्दा अगाडि कुनै नयाँ नेपाली र ठूलो विदेशी चलचित्र नभएकाले यी दुई चलचित्रले दुई हप्ताको समय पाएका छन् । तर, चलचित्र हेर्न जाने दर्शकले कोभिड खोप कार्ड भने अनिवार्य लिएर जानु पर्नेछ । पुनः हल खुलेर चलचित्र प्रदर्शन हुन थालेपछि चलचित्रकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।

निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला लगायतको अभिनय छ । सस्पेन्स-थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ ।

त्यस्तै, हरर जनरामा निर्माण भएको ‘कठपुतली’ लाई भिमसेन लामाले निर्देशन गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रलाई जोएल फ्रूमले खिचेका हुन् । सम्पदा मल्ललेको कथा रहेको चलचित्रको सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu