यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने भनिएको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति सरेको छ । नेपाल चलचित्र संघले फागुन १३ मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन सारेको हो । अब यो चलचित्र फागुन २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । योसहित चौथो पटक चलचित्रको प्रदर्शन सरेको हो ।

निर्माता निर्मल कुमार मिश्रले फागुन २० मा ‘लप्पन छप्पन २’ लाई सहज रुपमा प्रदर्शनको व्यवस्था मिलाउन चलचित्र संघदेखि चलचित्र विकास बोर्डसम्मले सहयोग गर्नुपर्ने बताएका छन् । कोरोनाको सबैभन्दा मारमा परेको चलचित्र भन्दै ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ को मिति छाड्न चौतर्फी दबाब आएपछि बाध्य भएर निर्माण टिमले ‘लप्पन छप्पन २’ को रिलिज सारेको हो ।
मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्मातामा रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्मातामा छन् ।


