अभिनेता राजेश हमाल चार वर्षपछि चलचित्र ‘सत्यम्’ बाट कमब्याक गर्दैछन् । चलचित्रको स्क्रिप्टमा आफैं बस्नेदेखि कसिलो शरीर बनाउन उनले निकै मिहिनेत गरेका छन् । चलचित्रका लागि कलाकारदेखि छायांकन सेट समेत तयार भइसकेको छ । माघबाट चलचित्रको सुटिङ सुरु गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोना महामारीको तेस्रो लहरले चलचित्रको छायांकन सुरु हुन पाएन ।

कोरोनाले चलचित्रको छायांकन अनिश्चित बनेपछि बजारमा विभिन्न खाले गसिप चल्न थाले । तर, आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा हमालले बजारको हल्लालाई मत्थर बनाएका छन् । ‘सत्यम्’ ढिलो चाँडो बन्ने उनले जानकारी दिए । कोरोना महामारीका कारण समयमा चलचित्रको छायांकन सुरु हुन नसकेको उनको भनाई छ । तर, चलचित्र बन्ने उनले ठोकुवा गरेका छन् ।
यो चलचित्रका लागि राजेश हमालको अपोजिटमा अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । १२ वर्षपछि राजेश हमालसँग एक म्यूजिक भिडियोमा काम गरेकी उनले आइतवार आयोजित एक कार्यक्रममा आफूलाई चलचित्रबाट अफर आएको भएपनि साइन नगरिसकेको जानकारी दिइन् । ‘सत्यम्’ मा पल शाह, उपासना सिंह ठकुरी र अनुपविक्रम शाही पनि फाइनल भइसकेका छन् ।


