‘सक्कीगोनी’ टिमको चलचित्रको पखाईमा सागर



बाल्यकालदेखि नै सागर लम्साल चलचित्रको हिरो बन्न चाहन्थे । एक चलचित्रको छायांकन सेटमा अभिनेता राजेश हमालसँग भेट गरेपछि उनले हिरो बन्नु नै आफ्नो लक्ष्य बनाएका थिए । भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्दा पढ्दै परिवारलाई जन्डिसको वहाना बनाएर उनी हिरो बन्नकै लागि नेपाल फर्किए । तर, चलचित्रमा कसरी काम पाइन्छ भन्ने समेत उनलाई थाहा थिएन ।

लामो संघर्षपछि उनले एक साथीको माध्यमबाट चलचित्र ‘लोफर’ मा काम गर्ने अवसर पाए । चलचित्रमा उनी ‘बले’ को भूमिकामा थिए । यो चलचित्र हेर्न टेलिसिरियल ‘भद्रगोल’ टिम पनि हल पुगेको थियो । सागरको चरित्र र अभिनय मन परेपछि ‘भद्रगोल’ टिमले उनलाई ‘बले’ को चरित्रमा लिने निर्णय गर्‍यो । यसपछि उनले आजका दिनसम्म करिअर फर्केर हेर्नु परेको छैन ।

‘भद्रगोल’ र ‘सक्कीगोनी’ मा ‘बले’ चरित्रलाई दर्शकले सर्वाधिक रुचाएपछि यतिबेला सागर टेलिसिरियलसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् । म्यूजिक भिडियो त उनले महिनामै १५/२० वटासम्म गर्ने गरेका छन् । तर, चलचित्रसँग भने उनको दूरी बढेको छ । ‘लोफर’ पछि ‘लज्जा र हैरान’ मा अभिनय गरेका उनले करीब चार वर्षयता कुनै पनि चलचित्रमा काम गरेका छैनन् ।

तत्काल चलचित्र नगर्नुको कारणबारे आइतवार एक कार्यक्रममा सागरले भने- ‘पहिला ‘सक्कीगोनी’ टिमको चलचित्र गरौं भनेर अरु चलचित्रमा काम नगरेकै हो । आफ्नै टिमको चलचित्र पर्खिँदा-पर्खिँदा लकडाउन भयो । अब भने चाँडै हामी फ्लोरमा जाने तयारीमा छौं ।’ ‘सक्कीगोनी’ टिमले लामो समयदेखि चलचित्र निर्माणको गृहकार्य गरेको भएपनि अहिलेसम्म बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu