चैत ११ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘चिसो एस्ट्रे’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ‘बाबा पशुपति’ गीतमा सविन राईको आवाज रहेको छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । गीतमा संगीत अजर जंगमको रहेको छ भने शब्द रचना दिनेश पाल्पालीले गरेका हुन् ।

दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ । अजर जंगमको स्वर तथा संगीत रहेको सो गीतको फरक खालको भिडियो धेरैले रुचाएका थिए ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको सह-निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।
चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । चलचित्रले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्छ ।


