यस्तो बन्यो ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल थारु गीत



यही फागुन १३ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रचार-प्रसारलाई आक्रामक बनाउन निर्माण टिमले थारु र नेवारी भाषामा प्रमोशनल गीत तयार पारेको छ । जसमध्ये थारु भाषाको गीत बुधवार सार्वजनिक गरिएको छ । नेवारी प्रमोशनल गीत भने बिहीवार यूट्युबमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द तथा संगीत छ । चितवनमा खिचिएको गीतको भिडियोमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा थारु पहिरनमा देखिएका छन् ।

निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रमोशनल गीत बनाउने योजना भएपनि समय अभावले थारु र नेवारी भाषामा मात्र तयार पारेको जानकारी दिए । पल र पूजाले भने चलचित्रमा पहिलो पटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । यी दुई गीतले थारु र नेवारी समुदायलाई सिनेमा हलसम्म आकर्षित गर्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा पूजाले चलचित्रका लागि पल शाहको गरेको साथ-सहयोगको खुलेरै प्रशंसा गरिन् । ‘म पललाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । पलले जति चलचित्रका लागि सपोर्ट सायद अरु कलाकार भएको भए गर्दैन थिए होला । हिरो होस् त पल शाह जस्तो । कलाकार भनेको निर्मातालाई बुझ्ने हुनुपर्छ,’ पलको तारिफ गर्ने क्रममा पूजा भक्कानिएकी थिइन् ।

चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu