माधव राज खरेल निर्देशित चलचित्र ‘चिट्ठी’ का लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको शिवताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्नेछन् ।
कमेडी, हरर र थ्रिलर जनरामा निर्माण भएको ‘चिट्ठी’ को ७० प्रतिशत छायांकन पूरा भइसकेको छ । केही दिनमा चलचित्रको बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । छायांकनको क्रममा अभिनेता सञ्जित भण्डारी घाईते भएपछि चलचित्रको छायांकन रोकिएको थियो । अहिले उनी स्वस्थ भइसकेका छन् ।

नायक भण्डारी भन्छन्, ‘मेरो करिअरकै अहिलेसम्मको उत्कृष्ट र लोभलाग्दो स्कृप्ट हो ‘चिट्ठी’ र यसमा अझ सुगन्ध थप्ने कोशिश गर्दै आफ्नो तर्फबाट जतिसक्दो राम्रो गर्नेछु । हँसाउँदा हँसाउँदै रुवाउने र डराउँदा डराउँदै हसाउँने यसको अनौठो किसिमको शैली छ । दर्शकलाई पनि चलचित्र मनपर्नेमा विश्वस्त छु ।’
कमला जोशी निर्माता रहेको चलचित्रमा सञ्जितका अलवा गोपाल ढकाल (छन्दे), कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय छ । राजेश कुमारको सम्पादन र जीवन पराजुलीको छायांकन रहेको चलचित्रको कथा निर्देशक खरेल आफैंले तयार पारेका हुन् ।


