सुपरस्टार राजेश हमालले लुम्बिनी अष्टदीप मल्टिनेशनलद्वारा सञ्चालित आवास परियोजना अन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा होम्समा निर्मित भवनको उद्घाटन गरेका छन् । शनिबार एक समारोहकाबीच हमालले आवास परियोजनाको बी ब्लकको एक घरको औपचारिक उद्घाटन गरेका हुन् ।

आवास परियोजना अन्तर्गत केही घरहरुको निर्माण कार्य सम्पन्न भएकोले हमालले औपचारिक शुभारम्भ गरेका हुन् । सो अवसरमा परियोजनाको अवलोकन गर्दै हमालले यो नमूना आवास क्षेत्र बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ठूलो क्षेत्रमा धेरै घरहरु व्यवस्थित रुपमा बन्दै रहेछन् । सम्पन्न घरहरु आकर्षक र समयअनुकूल लाग्यो । वृहत योजना व्यवस्थित त देखियो गुणस्तरमा पनि विशेष जोड दिएको पाएँ ।’

उद्घाटन समारोहमा लुम्बिनी अष्टदीप मल्टिनेशनलका अध्यक्ष नेत्र वनले बढ्दो शहरीकरण र प्रदुषणलाई मध्य नजर गर्दै बुटवल र भैरहवाबीचमा व्यवस्थित र आधुनिक बसाइका लागि विशेष आयोजनाका साथ अगाडि बढेको बताए । कम्पनीले तिलोत्तमा–७ भलवारीमा झण्डै ६ विगाहा क्षेत्रफलमा आवास परियोजना सुरु गरेको हो ।


