अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भुमिका रहने चलचित्र ‘हनी बनी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी बर्षको दशैं अर्थात् असोज १४ गतेबाट देशभरका हलमा प्रदर्शन हुने भएको छ ।
दीवाकर भट्टराईको निर्देशक रहने चलचित्रको लागि हाल मुख्य अभिनेत्रीको छनोट भैरहेको छ । मार्चबाट फ्लोरमा जाने चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ । चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरुको चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।

एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । चलचित्रको लागत ७ करोड अनुमान गरिएको छ ।
एबी इन्टरनेशलले निर्माण गरेको अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छन् । चलचित्रको चाँडै नयाँ रिलिज मिति घोषणा गरिनेमा निर्माण टिमले जनाएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भुमिका रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।


