‘चपली हाइट’ सिरिजका निर्माता अर्जुन कुमारले तेस्रो पटक आफ्नो चलचित्रको निर्देशन गर्ने जिम्मेवारी निकेश खड्कालाई सुम्पिएका छन् । ‘फाटेको जुत्ता’ र ‘चपली हाइट ३’ मा सहकार्य गरिसकेका उनीहरुको चलचित्र ‘गोरे सार्की’ मा टिमअप भएको हो । पहिला यो चलचित्रलाई अर्जुन कुमार आफैंले निर्देशन गर्ने तयारी गरेका थिए । तर, अब निकेशले निर्देशन गर्ने भएका छन् ।

आफूले चलचित्र निर्देशन नगर्नुको कारणबारे अर्जुन कुमारले भने- ‘सुरुमा त मैले नै निर्देशन गर्ने योजना बनाएको थिएँ । तर, अहिले आएर म निर्माताकै रुपमा ठीक छु जस्तो लाग्यो । ‘गोरे सार्की’ लाई मैलेभन्दा निकेशजीले न्याय गर्न सक्नुहुन्छ भन्ने लागेपछि म निर्देशनबाट पछाडि हटेको हुँ । मेरो आफ्नो व्यस्तताले गर्दा पनि तत्काल चलचित्र निर्देशनमा हात नहालुँ भन्ने लाग्यो ।’
आगामी चैत अन्तिम साताबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा अर्जुन छन् । अहिले स्क्रिप्टलाई अन्तिम रुप दिने कामसँगै कलाकारको छनोट कार्य भइरहेको उनले बताए । चलचित्रमा चल्तीका कलाकारहरुकै अभिनय रहने उनको भनाई छ । केही कलाकार फाइनल भइसकेको र केही छनोट हुन बाँकी रहेको उनले जानकारी दिए । चलचित्र थ्रिलर जनरामा निर्माण हुनेछ ।