सोमवार गायिका समीक्षा अधिकारीसँगको अडियो रेकर्ड सार्वजनिक भएपछि मंगलवार अभिनेता पल शाहले फेसबुकमा स्टाटस लेख्दै अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू आश्चर्यचकित भएको बताएका छन् । अडियो रेकर्डमा बज्ने आवाज आफ्नो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवाज आफ्नै हो भन्नेमा पुर्ण शंका रहेको र प्रविधिको कुटिल प्रयोग गरी आफ्नो बदनाम गर्न खोजिएको पलको तर्क छ ।

उनले लेखेका छन्, ‘यहाँ फरक प्रशंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवाददहरुलाई हाम्रो बास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले नीज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, नीज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।’
पल शाहले समीक्षा अधिकारीलाई आफ्ना प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको र ती प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्ने प्रतिबद्धता पनि जनाएका छन् । आफूलाई जोडेर आएका समाचारहरु वास्तविकताभन्दा धेरै टाढा रहेकाले यसबाट भ्रमित नहुन उनले आफ्ना प्रशंसकहरुलाई अपिल गरेका छन् ।


