बुधवार दिउँसो एक नाबालिग गायिकाले जर्बजस्ती करणीको मुद्धामा तनहुँ दमौलीको प्रहरी कार्यालयमा जाहेरी दिएपछि भूमिगत भएका अभिनेता पल शाहले बिहीवार फेसबुकमा एक स्टाटस लेख्दै आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । तर, आफूमाथि केही नजिकका सहकर्मीहरुले नै नियोजित ढङ्गले षड्यन्त्र गरेको उनको दाबी छ ।

उनले लेखेका छन्, ‘अडियो क्लिपमा समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ ।’ पलले अडियो रेकर्डसहित दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।
पलले स्टाटसमा ६ वटा अडियो रेकर्ड समावेश गरेका छन्, जसमा दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईसँगै समीक्षा अधिकारीको संवाद सुन्न सकिन्छ । अडियो सुन्दा उनीहरुले समीक्षालाई पलविरुद्ध उक्साएको देखिन्छ । यो अडियो रेकर्ड पलले बाहिर ल्याएसँगै दुर्गेश, सरोज, कृष्ण र सम्राटले बिहीवार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको बताइएको छ ।


