यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को बुधवार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा भव्य प्रिमियर गरियो । उल्लेख्य संख्यामा चलचित्रकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा नाम चलेका कलाकारहरु हलको गेटबाट प्रवेश गर्दा कीर्तिपुरबासीले ताली र हुटिङले न्यानो स्वागत गरेका थिए । दर्शकको भीड नियन्त्रणका लागि प्रहरी समेत बोलाइएको थियो ।

चलचित्र हेरेपछि अधिकांशले कथावस्तु, प्रस्तुतीकरण, कलाकारको अभिनय, छायांकन, लोकेशन, गीत-संगीतको प्रशंसामा शब्द खर्चिएका थिए । अभिनेता रमेश उप्रेतीले चलचित्र बबाल बनेको बताए । उनले भने- ‘चलचित्र जुन जनरामा बनेको छ त्यसमा सयमा सय न्याय गरेको छ । मलाई चलचित्र मन पर्यो । कोरोनाले गाह्रो बनाएको चलचित्र क्षेत्रलाई यो चलचित्रले खुसी दिनेमा विश्वस्त छु ।’

अभिनेत्री नीशा अधिकारीले पनि चलचित्र आफूलाई राम्रो लागेको बताइन् । निर्देशक सुदर्शन थापामा थप परिपक्वता देखेकोमा उनले खुसी व्यक्त गरिन् । निर्देशक दीवाकर भट्टराईले पनि सुदर्शनको निर्देशकिय कौशलको प्रशंसा गरे । चलचित्र इमोसनल भएकाले दर्शकलाई एकदमै मनपर्ने उनको विश्वास छ । ‘चलचित्रले बाँधेर राख्छ । मेरो भाषामा भन्दा चलचित्र सुपरहिट छ,’ उनले भने ।

कलाकार दीपकराज गिरीले ‘म यस्तो गीत गाउँछु २’ बाट नेपाली चलचित्र क्षेत्रले सास फेर्न सुरुवात गर्ने विश्वास व्यक्त गर्दै प्रेम, त्याग, समर्पणको कथा मन पर्ने दर्शकहरुलाई चलचित्र सही छनोट हुनसक्ने बताए । दर्शकको रुपमा चलचित्र हेर्दा आफू निराश नभएको उनको भनाई छ । अभिनेत्री निरुता सिंहले पनि आफूलाई चलचित्र मन परेको र कलाकारहरुको अभिनयले मन छोएको बताइन् ।

निर्देशक तथा कलाकार दीपाश्री निरौला, अभिनेताहरु सरोज खनाल, आकाश श्रेष्ठ, पुष्प खड्का, आयुष्मान देशराज जोशी, संजोग कोइराला, जयकिशन बस्नेत, अभिनेत्रीहरु प्रियंका कार्की, वर्षा राउत, एलिजा गौतम, निर्देशक दीपेन्द्र के. खनाल लगायतले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई पुर्नजीवन दिने विश्वास चलचित्रकर्मीहरुले लिएका छन् ।

प्रिमियरमा चलचित्रका नायक पल शाह भने उपस्थित भएका थिए । सोही दिन तनहुँको प्रहरी कार्यालयमा एक गायिकाले जर्बजस्ती करणीको मुद्धामा जाहेरी दिएपछि उनी भूमिगत भएका थिए । तर, उनले सुदर्शन थापालाई फोन गरेर प्रिमियर नरोक्न आग्रह गरेपछि निर्माण टिमले जे जस्तो परिस्थितिका बावजूद पनि प्रियिमर आयोजना गर्यो । तर, पलविनाको प्रिमियर फिक्का देखिन्थ्यो ।

अतिथी चलचित्रकर्मीहरुले आफ्नो भनाई राखेपछि चलचित्रकी अभिनेत्री तथा निर्मात्री पूजा शर्माले आफ्नो टिममाथि बज्रपात भएको बताइन् । गहभरी हुँदै उनले भनिन्, ‘राम्रो फिल्म बनाउन हामीले मेहेनत गरेका छौं । अहिले चलचित्रमाथि कसको नजर लाग्यो थाहा छैन तर दर्शकलाई साथ दिनका लागि आग्रह गर्छु । चलचित्रमाथि कसैको आँखै लागेको हो भने म इन्डस्ट्रीबाटै आउट हुन्छु ।’

निर्देशक तथा निर्माता सुदर्शन थापाले तीन वर्ष अगाडि मनकामना मन्दिरमा मुहूर्त गर्दा नै चलचित्रको भाग्य लेखिएको बताउँदै यो चलचित्रको भाग्यसँग फिल्म क्षेत्रकै भाग्य जोडिएको बताए । ‘यो एउटा व्यक्ति विशेषको चलचित्र होइन । व्यक्तिबाट गल्ती भयो होला तर चलचित्रमा काम गर्ने अरु मेहेनती हातको गल्ती छैन । त्यसैले इन्डस्ट्री बचाउन यो चलचित्रलाई सहयोग गरिदिनुस्,’ उनले भने ।
प्रिमियरका केहि झलकहरु भिडियोमाः