उपराष्ट्रपति नन्दबहादुर पुन र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले बुधवार निधन भएका लोकगायक तथा कलाकार जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहीवार विहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको थियो ।

कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा पर्यटन मन्त्री आलेले देशलाई चिनाउन जयनन्द लामाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले भने, ‘उहाँ जस्तो कलाकार अब देशले पाउन गाह्रो छ । देशलाई चिनाउन उहाँले चाल्नुभएका कदमहरु र देशमा भइरहेका विकृतिहरुलाई चिर्न सक्यो भने उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । र, कलाकारको साथमा सधैं पर्यटन मन्त्रालय रहेको पनि विश्वास दिलाउन चाहन्छु ।’
कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पण गर्न चलचित्र तथा सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिहरु नाचघर पुगेका थिए । उनको शवलाई श्रद्धाञ्जली दिन सर्वसाधारणहरुको पनि उल्लेख्य उपस्थिति थियो । बौद्ध धर्मगुरुहरु पनि नाचघरमा पुगेर लामाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका थिए । ६६ वर्षको उमेरमा निधन भएका उनको बिहीवार स्वयम्भूमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, कौशलटारस्थित आफ्नो निवासको गेट अगाडि आफ्नै गाडीमा कलाकार लामा मृत भेटिएका थिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका जयनन्द लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी चलचित्र र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । उनले २०३० सालमा चलचित्र ‘मनको बाँध’ बाट अभिनय यात्रा सुरु गरेका थिए ।

कलाकार लामाले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ लगायतका चलचित्रको निर्माण तथा निर्देशन पनि गरेका छन् । उनले अभिनय गरेका अझै आधा दर्जन बढी चलचित्र प्रदर्शन हुन बाँकी छन् । उनले स्वर दिएका ‘कलकत्ते काइँयो केश मेरो बांगो’, ‘चट्ट परेको चुल्ठी’, ‘हेर्दैमा राम्रो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘केको साँचो’, ‘नाच्यो झिल्के नाच्यो’, ‘मूलाको चाना’ लगायतका गीतहरु चर्चित छन् ।


