चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कोरोनाका कारण पटक-पटक प्रदर्शन अड्किएको चलचित्रले निर्माण पूरा भएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो । चलचित्र ‘कठपुतली’ बाहेक कोभिडपछि प्रदर्शनमा आएका अरु नेपाली चलचित्रले हलमा दर्शक फर्काउन नसकेको अवस्थामा यो चलचित्रले चलचित्र क्षेत्रलाई नै पुर्नजीवन दिने अपेक्षा गरिएको छ ।
हलिउड चलचित्र ‘अनचार्टेड’, बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ का बावजूद पनि चलचित्रले काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुमा ठूलो शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई शुक्रवार २५ शो र शनिवार २७ शो बाँडेको छ । साँझसम्म शनिवारका लागि थप शो बढ्ने निर्माण टिमको विश्वास छ ।

स्टारकास्ट र गीतसंगीतका कारण दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्रलाई प्रदर्शनको पहिलो हप्तामा नै शनिवारबाहेक दुईवटा सार्वजनिक विदा मिलेको छ । फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले यसको फाइदा चलचित्रले राम्रैसँग उठाउने देखिन्छ । बुधवार भएको प्रिमियरमा चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो ।
सुदर्शन थापा निर्देशित चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।


