पललाई कसैले केही गर्न सक्दैन : पूजा शर्मा



जबरजस्ती करणीको अरोपमा जाहेरी परेपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । पलको विषयले चलचित्रलाई असर गर्न सक्ने धेरैको विश्लेषण थियो । तर, चलचित्रलाई दर्शकहरुले राम्रो साथ दिएका छन् । मल्टीप्लेक्सभन्दा सिंगल थिएटरमा दर्शकहरुको उपस्थिति राम्रो रहेको जानकारी प्राप्त छ ।

शुक्रवार विहान अभिनेत्री पूजा शर्मा, निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ दर्शक प्रतिक्रिया बुझ्न बाजालुस्थित अष्टनारायण हलमा पुगेका थिए । पलको तस्विर अंकित टिसर्ट लगाएर पुगेकी पूजालाई दर्शकहरुले हलमा न्यानो स्वागत गर्दै पल शाहको बारेमा चासो व्यक्त गरेका थिए । उनले पल आफ्नो मुटुमा रहेको बताउँदै पलको तर्फबाट दर्शकहरुलाई धन्यवाद दिएकी थिइन् ।

दर्शकसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू पल शाहको पिल्लर रहेको बताइन् । उनले भनिन्, ‘पूजा भनेकै पलको पिल्लर हो । पूजाविना पल अधुरो छ अनि पलविना पूजा अधुरो छ । ऊ आज भौतिक रुपमा मेरोसामु नभए पनि पल मेरो अगाडि उभिएको छ । आफ्नो चलचित्रलाई आफ्नो भन्न नपाउँदाको पीडा मैले भोगेको छु । अहिले त्यो पीडा पलले भोगिरहेको छ ।’

पललाई कसैले केही गर्न नसक्ने दाबी गर्दै उनले एक वर्षसम्म पल कसरी बाँचेको थियो भन्ने कुरा आफूलाई थाहा भएको बताएकी छन् । ‘सत्यकै जीत हुन्छ । आज नराम्रो मान्छेहरुले खेदो खनिरहेका होलान् तर एकदिन पल आउँछ । पलको साथमा हामी छौं । बलेको आगो जसले पनि ताप्छ, दुःख पर्दा कोही साथमा हुँदैन । तर, दर्शक साथमा भए कसैले केही गर्न सक्दैन,’ उनले भनिन् ।

त्यस्तै, निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रलाई ‘म यस्तो गीत गाउँछु २’ ले पुरानै लयमा फर्काएको दाबी गरे । दर्शकलाई चलचित्रको कथावस्तु ताजा लाग्ने बताउँदै उनले भने, ‘दुई वर्ष अगाडि लेखेको कथा अहिलेको घटनाक्रमसँग ९० प्रतिशत मिल्छ । यसले गर्दा दर्शकलाई चलचित्र ताजा लाग्छ । यो चलचित्रले भविष्य देखेको रहेछ । तर, कथा लेख्दा हामीले अहिलेको भविष्य देखेका थिएनौं ।’

स्टार गायक र नवोदित गायिकाबीचको प्रेमकथा बुनिएको चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, विशाल पहारी, सोनिका रोकाय, गणेश गिरी लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतले फिल्ममा प्राण भरेको छ । चलचित्रलाई सुदर्शन र पूजाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu