शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार तनहुँको जिल्ला प्रहरी कार्यक्रममा एक नाबालिग गायिकाले जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि फरार रहेका अभिनेता पल शाहको बारेमा सोधपुछका लागि प्रहरीले उनलाई शनिवार नियन्त्रणमा लिएको जानकारी प्राप्त छ ।

सुदर्शन दिउँसो १ बजे प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिन पुगेका थिए । अन्तर्वार्ता सकिए लगत्तै प्रहरीले उनलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो । सुदर्शनको फोन समेत नियन्त्रणमा लिएर उनीसँग तिनकुने प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । अभिनेत्री पूजा शर्मालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिने तयारीमा प्रहरी छ ।
करणीको आरोपमा जाहेरी परेपछि प्रहरीले पललाई तीव्र रुपमा खोजिरहेको छ । प्रहरीले देशभरका प्रहरी कार्यालयमा उनलाई पक्राउ गर्न सर्कुलर समेत जारी गरेको छ । तर, तनहुँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको तीन दिन वितिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् । प्रहरीका अनुसार, पलको अन्तिम लोकेसन बुधबार राति बालकुमारीमा देखिएको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए ।