पल शाहको बारेमा सोधपुछपछि सुदर्शन थापा नियन्त्रणमुक्त



एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएपछि फरार रहेका अभिनेता पल शाहको बारेमा सोधपुछ गर्न प्रहरी (नयाँ बानेश्वर) ले नियन्त्रणमा लिएको निर्देशक सुदर्शन थापालाई नियन्त्रणमुक्त गरेको छ । शनिवार दिउँसो प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिएपछि उनलाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले निर्देशक थापालाई पलसँग सम्पर्क भए/नभएको बारेमा सोधेको थियो । तर, उनले पल आफ्नो सम्पर्क नभएको प्रहरीलाई बताएका छन् । पलसँग सम्पर्क भए खबर गर्न उनलाई प्रहरीले आग्रह गरेको छ । सुदर्शन थापाले निर्माण र निर्देशन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलको अभिनय रहेकाले उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

प्रहरीबाट छुटेपछि सुदर्शनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अहिले प्रहरीले पल शाहको खोजी गरिरहेको छ । त्यही शिलशिलामा पलले अभिनय गरेको फिल्मको निर्देशक र निर्माता भएको हिसाबले मसँग कुनै सम्पर्क छ कि छैन भनेर सोधपुछ गरिएको थियो । पल शाहसँग मेरो सम्पर्क भयो भने जानकारी गराउनेछु भनेर प्रहरीलाई भनेको छु । मैले सकेको सहयोग प्रहरीलाई गर्ने नै छु ।’

बुधवार दिउँसोसम्म भने आफू पलकै साथमा रहेको उनले जानकारी दिएका छन् । ‘चलचित्रको प्रिमियरमा सहभागी हुनका लागि हामी एउटै मेकअप स्टूडियो (लाजिम्पाट) मा मेकअप गरिरहेको थियौं । त्यसै बेला किटानी जाहेरी परेको खबर आयो । अनि, पलले प्रिमियरमा सहभागी हुन नसक्ने बताएपछि म निस्किएँ । त्यसबेलादेखि ऊसँग मेरो सम्पर्क भएको छैन,’ सुदर्शनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu