भर्सटायल अभिनेताको रुपमा चिनिने खगेन्द्र लामिछानेको डेब्यु निर्देशित चलचित्र ‘पानीफोटो’को मिति तय गरिएको छ । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा केही समय ढिलाई भएको चलचित्र आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ । वितरक तथा प्रदर्शकहरुको छलफल पश्चात् निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।
स्वयम् खगेन्द्रले आफू लखित नाटकलाई चलचित्रको स्वरुप दिएका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथामा चलचित्र आधारित छ । चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, चलचित्रमा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको चलचित्रमा खगेन्द्र स्वयंको लेखन रहेको छ । यस चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
खगेन्द्रले नाटकलाई चलचित्रमा ल्याउने आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गरे । उनी भन्छन्, ‘यो नाटकलाई चलचित्र बनाउँछु भन्ने मेरो सन् २०११ देखिको सपना थियो । धेरैले नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ पुर्याउन मन थियो, जुन चलचित्रबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, चलचित्र नै बनाउन चाहन्थेँ, जुन बल्ल पूरा भयो ।’


