१७ वर्षिय नाबालिग गायिकाले बुधवार तनहुँमा जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएपछि फरार रहेका अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आइतवार तनहुँ प्रहरीले तनहुँ क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पल शाहले आज विहान फेसबुकमा एक स्टाटस लेख्दै आइतबार आफू प्रहरीसमक्ष उपस्थित हुने जानकारी गराएका थिए ।

बुधवार पल शाहविरुद्ध प्रहरीमा जबर्जस्ती करणीको जाहेरी परेपछि उनी तीन दिनदेखि फरार थिए । तनहुँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । देशभरका प्रहरी कार्यालयमा पक्राउका लागि सर्कुलर समेत जारी भएको थियो । बुधवारदेखि शनिवार साँझसम्म पल शाहसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग प्रहरीले सोधपुछ समेत गरेको थियो ।
पलले आइतवार फेसबुकमा लेखेका थिए, ‘मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण चलचित्रलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’