एकपटक दर्शकसँग बसेर चलचित्र हेर्ने इच्छा छ : पल शाह (भिडियो)



फागुन ११ गते एक नाबालिग गायिकाले जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएपछि तीन दिनदेखि फरार रहेका अभिनेता पल शाहले आइतवार प्रहरीमा उपस्थित हुनुभन्दा अगाडि एक भिडियो सन्देश जारी गर्दै आफू अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ दर्शक र आफ्नो टिमसँग बसेर हेर्ने इच्छा रहेको र सम्भव भएको खण्डमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीसँग आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो सपना थियो चलचित्र ‘म यस्तो गीत गाउँछु २’ दर्शक र आफ्नो टिमसँग बसेर हेर्ने । शुक्रवार र शनिवार चलचित्रले एकदमै राम्रो व्यापार गर्‍यो भन्ने सुनेँ, एकदमै खुसी लाग्थ्यो । तर, दर्शकसँग बसेर चलचित्र हेर्ने चाहना भने पूरा हुन सकेन । एकपटक दर्शक र टिमसँग बसेर चलचित्र हेर्ने इच्छा छ । सम्भव हुन्छ भने मेरो यो इच्छा पूरा गरिदिनुहुन प्रहरीसँग आग्रह गर्दछु ।’

उनले प्रहरीमा उपस्थित हुन ढिलाई गर्नुको कारणबारे पनि स्पष्ट पार्दै भनेका छन्, ‘मैले घर व्यवहार मिलाउनु पर्ने थियो । बुबा, ममी, बहिनीको अभिभावक भनेको म मात्रै हो । त्यसैले केही मिलाउनु पर्ने थियो । अनि, मेरो स्वास्थ्य स्थिति पनि कमजोर थियो । यी सबै कुराले प्रहरीमा उपस्थित हुन ढिलाइ भयो ।’ उनले आफ्नो कारणले प्रहरीमा पर्न गएको अप्ठ्यारोप्रति माफी मागेका छन् ।

पलले अब कानुनलाई आफूले सघाउने र आफूसँग भएका प्रमाणहरु पनि पेश गर्ने बताएका छन् । उनले आफू निर्दोष रहेको दाबी गर्दै अगाडि भनेका छन्, ‘म बेकसुर छु । पहिलो दिनदेखि मलाई फसाउँदै फसाउँदै यहाँसम्म ल्याइएको छ । यही कुरा सम्मानीत अदालतमा पनि भन्नेछु । अदालतले जे निर्णय गर्नेछ, त्यसमा म खुसी हुनेछु । र, यत्ति भन्न चाहन्छु कि म बेकसुर छु । निर्दोष छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu