बक्सअफिसमा ‘म यस्तो गीत गाउँछु २’को आक्रामक व्यापार



शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले दर्शकलाई फेरि हलसम्म फर्काएको छ । शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सी कायम गरेको चलचित्रले शनिबार बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । कोरोनाको महामारीपछि रिलिज भएका चलचित्रमध्ये ‘म यस्तो गीत गाउँछु २’ ठूलो ओपनिङ गर्ने चलचित्र बनेको वितरक करण श्रेष्ठले बताएका छन् ।

शनिबार, देशैभरका सिंगल तथा मल्टिप्लेक्स हलहरुमा चलचित्रले आक्रामक सुरुवात गरेको वितरक करण क्रेजी र नरेन्द्र महर्जनले जानकारी दिए । शनिबार काठमाडौंका सिंगल तथा मल्टिप्लेक्स हलहरुमा दर्शकको भीड अत्याधिक देखिएको थियो । काठमाडौंका अष्टनारायण, क्यूएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर, आरके लगायतका हलमा दर्शकको उच्च चाप देखियो । यस्तै, काठमाडौं बाहिरका स्थानमा पनि चलचित्रले बम्पर कारोबार गरेको छ ।

नायिका पूजा शर्माले दर्शकको माया देखेर आफू भावूक भएको बताइन् । उनले भनिन्– ‘हामी दर्शकलाई पर्दा उहाँहरुको साथमा भयौं भने उहाँहरु पनि हामीलाई पर्दा एकसाथ अगाडि आउनुहुन्छ भन्ने पुष्टी भएको छ । हलमा दर्शक फर्काउन हामी सफल भएका छौं ।’

काठमाडौंका हल संचालकहरुले साउथको चलचित्र ‘पुष्पा’ र हलिउडको चलचित्र ‘स्पाइडर म्यान’ पछि दर्शकको उच्च फ्लो ‘म यस्तो गीत गाउँछु २’ मा देखिएको बताए । मंगलबार शिबरात्रीका लागि मल्टिप्लेक्सहरुले ‘म यस्तो गीत गाउँछु २’को लागि उच्च शो दिइसकेका छन् । महाशिवरात्रीको विदामा पनि चलचित्र आक्रामक कमाई गर्ने अनुमान गरिएको छ ।

पल शाह, पुजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई सांगीतिक लभस्टोरी कथामा तयार पारिएको छ । एक स्टार गायक र एक नवोदित गायिकाबीचको प्रेम सम्बन्धको कथा वाचन गरेको चलचित्रलाई सञ्जय लामाले खिचेका छन् । सुदर्शन थापा निर्देशन चलचित्रलाई सुदर्शन र पूजाले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu