मोफसललाई जगाउन विराटनगरमा ‘फ्लाएर्स फिल्म अवार्ड’ हुने



ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा फर्स्ट ‘फ्लाएर्स फिल्म अवार्ड २०७९’ आयोजना गर्ने भएको छ । आगामी बैशाख २४ गते विराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइयो ।

मोफसलमा नेपाली चलचित्रको विकास र विस्तारको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा गर्न लागिएको आयोजक संस्थाका प्रमुख साइमन राजबंशीले बताए । उनले भने, ‘विराटनगरमा नेपाली चलचित्रको बजार उच्च छैन । त्यहाँ कतिपय कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली चलचित्र तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौ ।’

पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका अभिनेता सरोज खनालले नेपाली चलचित्रको विकासमा यो अवार्डले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रायः अवार्डहरु राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ । तर, पहिलो पटक मोफसलमा अवार्ड हुन लाग्नु निकै खुशीको कुरा हो । अन्य अवार्डभन्दा यो निश्चय नै विशेष हुने विश्वास मलाई छ ।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिराटनगरमा अवार्ड हुन लाग्नु खुशीको कुरा रहेको बताइन् । यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने उनको विश्वास छ । त्यस्तै, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्डले गुणस्तरिय चलचित्र निर्माणमा दबाब दिनुका साथै कलाकारलाई समेत प्रोत्साहित गर्ने धारणा राखे ।

कार्यक्रममा सञ्चारकर्मी, चलचित्र निर्देशक, निर्माता तथा लेखक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज, नरेशवीर सिंहलगायतको उपस्थिति रहेको थियो । फिल्म सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिनेछ । ०७६, ०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका चलचित्रहरु अवार्डमा सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu