‘हेल्लो जिन्दगी’को ट्रेलर रिलिज, विक्रमको प्रेममा प्रियंका र दीपिका



आगामी चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट १४ सेकेन्ड लम्बाईको ट्रेलर एक्सन, प्रेम र रोदनले मिश्रित छ । अभिनेता विक्रम डि जोशीले विदेशी भूमिमा हासिल गरेको लोभलाग्दो सफलता र जीवनमा एक युवतीको आगमनपछि आउने उचार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले बुझाउँछ ।

ट्रेलरमा अभिनेत्री द्वय प्रियंका कार्की र दीपिका प्रसाईंसँगै कलाकार विल्सन विक्रम राईले पनि ‘स्क्रिन स्पेश’ पाएका छन् । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, विक्रान्त बस्नेत, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल र लण्डनमा छायांकन भएको हो ।

सबिता गुरुङ सह-निर्माता र हिराल जोशी र बिक्रम डि जोशी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन छन् । चलचित्रको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीले लेखेका हुन् भने पटकथा र संवादमा बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् । चलचित्रमा निर्देशक बोहराकै शब्द, राजनराज सिवाकोटी एलिस कार्कीको संगीत र बिष्णु देवाको कोरियोग्राफी छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ मा पुरुषोत्तम प्रधानको छायांकन छ भने सम्राट बस्नेतको द्वन्द्व र मित्र डि. गुरुङको सम्पादन रहेको छ । निर्देशक बोहोराका अनुसार, चलचित्र सत्य घटनाबाट प्रेरित भएर निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu