मुकुन्द भट्ट ठूलो लगानीमा चलचित्र निर्माण गर्ने निर्देशकको रुपमा चिनिन्छन् । उनले चलचित्र ‘लप्पन छप्पन’ मा निर्माताको करीब २ करोड खर्च गरे । यही फागुन २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन २’ मा पनि ४ करोड बढीको लगानी छ । चाँडै उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’ मा १०-१२ करोडको लागत अनुमान गरिएको छ । उनी आफूले बनाउने चलचित्रमा सानोतिनो लगानीले नपुग्ने बताउँछन् ।

शुक्रवार पत्रकार भेटघाटमा मुकुन्दले भने- ‘चलचित्र बनाउँदा खर्च त भइहाल्छ नी । जे पायो त्यही बनाएर त काम छैन । काम चलाउकै लागि बनाउने हो भने त निर्मातालाई मुर्गा बनाएर अहिलेसम्म मैले १० वटा चलचित्र बनाइसक्थेँ होला । म निर्मातालाई के भन्छु भने मेरो चलचित्रमा राम्रै खर्च लाग्छ । ४/५ करोड खर्च हुन्छ । चलचित्र भनेको विजनेश हो । कसैले घर बेच्छन् कसैले जग्गा ।’
‘लप्पन छप्पन’ देखि मुकुन्दले आफ्नो चलचित्रमा सौगात मल्ललाई छुटाएका छैनन् । ‘एक्स ९’ मा पनि सौगात मुख्य भूमिकामा देखिँदैछन् । आफूले सोचेको क्यारेक्टर दुरुस्तै निकाल्ने भएका कारण सौगात मल्लसँग निरन्तर सहकार्य भइरहेको उनको भनाई छ । उनी भन्छन्, ‘सौगात दाई नेपालमा मात्र नभइ बलिउडमा काम गर्नुपर्ने कलाकार हो । उहाँ त्यो स्तरको कलाकार हुनुहुन्छ ।’

मुकुन्दले ‘लप्पन छप्पन २’ ले दर्शकलाई निराश नबनाउने दावी गरेका छन् । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, स्वर्गीय दीपक क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । पैसा र शक्तिको कथामा निर्माण भएको चलचित्रलाई तमिल, तेलुगू लगायतका भाषामा पनि तयार गरेर डिजिटल प्लेटफर्ममा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।