चैत्र १७ देखि २१ सम्म ‘निफ’ आयोजना हुँदै, भ्याली र हिरानी आउने सम्भावना



जिवन पराजुली। यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने जानकारी गराईएको छ ।

यसअघि चैत्र १० देखि १४ गते सम्म हुने अएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको बताईएको छ । पछिल्लो कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना गरिएको थियो । यसपटकको महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने जनाईएको छ ।

अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘गौतम बुद्ध बेष्ट न्यारेटिभ फिचर फिल्म (१५०० अमेरिकी डलर र ट्रफी), ‘माउन्ट एभरेष्ट बेष्ट डकुमेन्ट्री फिल्म (१००० अमेरिकी डलर र ट्रफी)’, ‘बागमती बेष्ट लाईभ एक्शन सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी)’ र ‘मन्जुश्री बेष्ट एनिमेटेड सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी) रहेका छन् ।

राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘बेष्ट फिचर फिल्म (रु. १,००,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म (रु. ५०,००० र ट्रफी)’, ‘बेष्ट डकुमेन्ट्री (रु. ५०,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म डिरेक्शन (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म सिनेमाटोग्राफी (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म स्क्रिनराईटर (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म मेल/फिमेल एक्टर (ट्रफी)’ तथा ‘IFFS Don Quixote बेष्ट लाई एक्शन फिचर फिल्म अवार्ड (सर्टिफिकेट) हरु रहेका छन् ।

महोत्सवमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि केहि चलचित्रहरु प्रदर्शन हुनेछन् । महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत सञ्चालन हुने बताईएको छ ।

महोत्सवको अन्तराष्ट्रिय निर्णायक तथा मास्टरक्लासको लागि हलिउड निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानीसँग कुरा भएको र आउने सम्भावना रहेको महोत्सवका अध्यक्ष के.पि. पाठकले बताए । महोत्सवका फिल्म छनौट समितिमा दीपक बज्राचार्य, शिवम अधिकारी, पुरु लम्साल, सुर्य श्रेष्ठ, यादव भट्टराई र संगीता श्रेष्ठ रहेका छन् ।

पत्रकार सम्मेलनमा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले यो महोत्सवले हाम्रो परिवेश तथा कथाहरुलाई अन्तराष्ट्रिय स्तरमा मजबुत पहिचान दिलाएको बताए । यस्ता प्रकृतिका कार्यक्रमहरु वोर्डले नै गर्नुपर्ने भन्दै दाहालले आफुले संचार तथा सुचना प्रविधि मन्त्रालयमा प्रस्ताव राखेको र स्विकृतको चरणमा रहेको बताए । विदेशी चलचित्रसँगको प्रतिष्पर्धाको होडमा हाम्रा कन्टेन्टहरु कमजोर हुन पुगेको भन्दै दाहालले नीतिको भन्दा कन्टेन्टको महत्व रहेको जिकिर गरे ।

महोत्सवको अघिल्लो संस्करणका निर्णायक निर्देशक तुलसी घिमिरेले अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पुर्‍याउन महोत्सवले सहयोग गर्ने बताए । महोत्सवका सल्लाहकार कलाकार तथा निर्देशक नीर शाहले यस प्रकारका कार्यक्रमहरुले चलचित्रकर्मीहरु मात्र होईन सम्पुर्ण समुदाय नै लाभान्वित हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu