भर्सटायल अभिनेताको रुपमा चिनिएका अर्पण थापा अभिनीत चलचित्र ‘लप्पन छप्पन २’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रको पहिलो श्रृंखलामा पनि उनी मुख्य भूमिकामा थिए । उनी ‘लप्पन छप्पन’ ले जस्तै सिक्वेलले पनि आश बोकेको बताएका छन् । एक्सन जनराको हिसाबले चलचित्र एक लेभलको बनेको उनको दाबी छ । आफ्नो लागि यो चलचित्र आशलाग्दो रहेको उनले बताए ।
आफ्नो चरित्र निर्माणको बारेमा उनले भनेका छन्, ‘सिक्वेल भएकाले चरित्र निर्माणमा त्यति गाह्रो भएन किनभने यो अघिल्लो पार्टकै निरन्तरता हो । अघिल्लो पार्टमा जुन हिसाबले प्रस्तुत गरिएको थियो त्यसलाई क्यारेक्टरमा अलि ग्ल्यामर जोडेका हौं । कलरफूल बनाएका छौं । चलचित्रमा म कमेडी भिलेनको भूमिकामा प्रस्तुत छु । पहिलाको भन्दा यसपटक मेरो क्यारेक्टर अझ रमाइलो छ ।’

‘लप्पन छप्पन २’ माथि निर्माताले गरेको लगानीलाई उनी ठूलो आँट मान्छन् । ‘कुनै चलचित्र हिट वा फ्लप हुन्छ भनेर बनाइदैन । त्यो रिलिजपछिको कुरा हो । त्योभन्दा अगाडि सबैले कोशिश गर्ने हो । ‘लप्पन छप्पन २’ पनि एउटा कोशिश हो । यति ठूलो लगानीमा चलचित्र बनाउनु आँटको कुरा हो । यसरी आँट गर्न थालियो भने नेपाली चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो गर्नेछ,’ उनी सुनिए ।
मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्रमा अर्पणका अलावा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतको अभिनय छ । पैसा र पावरको कथामा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । पुरुषोत्तम प्रधानले चलचित्रको छायांकन गरेका हुन् ।