२ वर्ष अगाडि कोरोना महामारीका कारण चलचित्र ‘२ नम्बरी’ को छायांकन अधुरैमा रोकिएको थियो । यसपछि निर्माण टिमले पटक-पटक पुनः छायांकनको प्रयास नगरेको होइन । तर, कोरोनाका कारण किस्ताबन्दीमा लकडाउन हुँदा चलचित्रको छायांकन सुरु हुन सकेको थिएन । अब निर्माण टिमले आउँदो चैत पहिलो साताबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको छ ।
फेरि सुरुबाटै छायांकन गर्न लागिएको चलचित्रमा लोकेशनसँगै केही कलाकार पनि हेरफेर हुनेछन् । चलचित्रको केही प्रतिशत छायांकन गरिसकेका अभिनेता तथा मोडल पल शाह जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा भएकाले उनको ठाउँमा निर्माण टिमले अरु नायकलाई लिने तयारी गरेको छ ।

निर्देशक दीपेन्द्र लामाले केही दिनमा चलचित्रका लागि मुख्य नायकको टुंगो लाग्ने जानकारी दिए । ‘निर्माता र वितरकको टिमबाट चलेकै कलाकार राख्ने कुरा आएको छ । तर, अहिले नै को कलाकार राख्ने भन्नेमा निधो भइसकेको छ । कथावस्तु अनुसार सुहाउने पात्र र बजेट अनुसार सोच्नुपर्ने हुन्छ । अबको एक हप्तामा को कलाकार रहने भन्नेमा टुंगो लाग्न सक्नेछ,’ निर्देशक लामाले भने ।
चलचित्रमा जयनन्द लामा पनि कलाकारको रुपमा थिए । तर, कलाकार लामाको यसै साता निधन भएकाले उनको ठाउँमा पनि अरु कलाकारको खोजी भइरहेको बताइएको छ । चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायत भने यथावत् छन् । निर्देशक लामाकै कथा रहेको चलचित्रको निर्मातामा रोहित कट्टेलरसरोज नेपाली र प्रस्तुतकर्तामा किरण नेपाली छन् ।


