अभिनेता शिव श्रेष्ठका समकालीन प्रायः कलाकारहरु अभिनयमा खासै सक्रिय छैनन् । तर, शिवले निरन्तर चलचित्रमा काम गर्दै आएका छन् । उनी अभिनीत नयाँ चलचित्र ‘लप्पन छप्पन २’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट ठूलो आश बोकेका उनले आफ्नो ४० वर्षको करिअरमा ‘लप्पन छप्पन २’ मा निर्वाह गरेको भूमिका मन परेको बताएका छन् ।
यसै हप्ता पत्रकार भेटघाट कार्यक्रममा उनले भनेका थिए, ‘४० वर्षको करिअरमा मैले ‘लप्पन छप्पन २’ मा जुन रोल पाएको छु, त्यो अत्यन्त मन परेको छ । चलचित्रमा निकै मज्जाको रोल छ मेरो । चलचित्रमा एकसेएक कलाकारहरु छन् । मलाई खुसी लागेको छ कि यति राम्रो कलाकारहरुको भीडमा म पनि मिसिन पाएको छु । यो फिल्मबाट मलाई केही होला कि भन्ने आश छ ।’

शिव श्रेष्ठले ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टको काम गर्ने शैलीको पनि प्रशंसा गरेका छन् । ‘मैले आजका दिनसम्म धेरै निर्देशकहरुसँग काम गरेँ । मुकुन्दको काम गर्ने शैलीबाट म प्रभावित छु । मुकुन्द जस्तो निर्देशक चलचित्र क्षेत्रलाई आवश्यक छ । चलचित्र त जसले पनि बनाउँछ तर मुकुन्दले जुन प्रकारले चलचित्र बनाउनु भएको छ त्यसको प्रशंसा गर्नैपर्छ,’ अभिनेता श्रेष्ठले भने ।
मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पैसा र शक्तिको कथामा निर्माण भएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने मिलन श्रेष्ठको सम्पादन रहेको छ ।


