यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ को बिहीवार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा चलचित्रकर्मीहरुले मेकिङ र एक्सन पक्षको प्रशंसा गरेका छन् । निर्माता अर्जुन कुमारले हेरिरहेको चलचित्रभन्दा आफूलाई अलग लागेको बताए । ‘हामीले प्रायः एउटै खालको चलचित्र हेरिरहेका हुन्छौं । यो अलि फरक छ । दर्शकलाई चलचित्र फ्रेस लाग्न सक्छ । समग्रमा भन्दा चलचित्र पैसा असुल छ,’ उनले भने ।

अभिनेता नरेन खड्काले चलचित्रको मेकिङ र एक्सन राम्रो रहेको प्रतिक्रिया दिँदै अभिनेता अर्पण थापाको अभिनय निकै मन परेको बताए । त्यस्तै, कमेडियन हिमेश पन्तले चलचित्रको मेकिङ क्वालिटीको प्रशंसा गरे । उनले पनि अर्पण थापाको अभिनय पराएका छन् । ‘अर्पण थापा दाईको ‘सेन्स अफ ह्यूमर’ र कमेडी मन पर्यो । धेरैपछि हलमा चलचित्र हेर्न आएको थिएँ, राम्रो लाग्यो,’ उनले भने ।

चलचित्रमा मुख्य भूमिकामा रहेका र प्रिमियरमा प्रशंसा कमाएका अर्पण थापा चलचित्र हेरेर धेरै हदसम्म सन्तुष्ट देखिए । ‘चलचित्रले मनोरञ्जन दिएको नै पाएँ । खासै कन्फ्यूजन छैन । स्टाइलिस फिल्म हो । नेपालको ‘केजीएफ’ यस्तै त होनी । इन्डियाको अलि फरक हुन्छ, नेपालको यस्तै हो । ८/१० वर्षपछि अझ माथि चढिन्छ होला । यत्तिको चलचित्रलाई प्याकेजको भन्न मिल्छ,’ उनले भने ।

चलचित्रमा मुख्य भूमिकामा रहेका शक्ति श्रेष्ठले आफूले गरेको अपेक्षा चलचित्रले पूरा गरेको बताए । दर्शकलाई पनि चलचित्र मन पर्नेमा उनी विश्वस्त देखिएका छन् । अष्ट्रेलियामा बस्दै आएका उनी यही चलचित्रको प्रदर्शनका लागि नेपाल आएका हुन् । उनी अभिनेता शिव श्रेष्ठका छोरा हुन् । चलचित्रमा शिव श्रेष्ठको पनि अभिनय रहेको छ । उनले नयाँ चिज खोज्ने दर्शकलाई चलचित्र मनपर्ने बताए ।

चलचित्रमा बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डाले पनि अभिनय गरेकी छन् । ‘लप्पन छप्पन २’ को प्रचार-प्रसार र प्रिमियरमा सहभागी हुन यसै साता नेपाल आएकी उनी प्रिमियरमा आकर्षणको केन्द्रविन्दू बनेकी थिइन् । नेपाली भाषा नबुझ्ने उनले आफूलाई चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएकी छन् । नेपालका भेट्रान कलाकारहरुसँग काम गर्न पाउँदा खुसी लागेको उनको भनाई छ ।

निर्देशक मुकुन्द भट्टले चलचित्रमा हुनुपर्ने सबै खुराक रहेको बताउँदै दर्शकलाई मन पर्नेमा विश्वस्त देखिए । उनी भन्छन्, ‘चलचित्रमा मैले केही चिज नयाँ गर्न खोजेको छु । चलचित्रमा हुनुपर्ने हरेक चिजहरु राखेको छु जस्तो लाग्छ ।’ चलचित्र ‘लाखे’ को छायांकनका लागि मुस्ताङमा रहेका चलचित्रका दुई मुख्य अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही भने प्रिमियरमा उपस्थित हुन सकेनन् ।


