कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन स्थगन भएको चलचित्र ‘लप्पन छप्पन २’ले शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ । ठूलो बजेट र विदेशका विभिन्न ठाउँमा छायांकन भएको चलचित्रले अघिल्लो हप्ता प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का कारण सिंगल थिएटर र मल्ल्टीप्लेक्समा औसत शो पाएको छ । यद्यपि, निर्माण टिम माउथ पब्लिसिटीको भरमा छ ।

एक्सन जनरामा निर्माण भएको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्रमा नरेश योगीको कोरियोग्राफी र सिमसोन तामाङको द्वन्द्व निर्देशन रहेको छ ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।


