एक हप्तामा ‘म यस्तो गीत गाउँछु २’को कमाई कति ?



गत शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एक हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । प्रदर्शनको दुई दिनमा १ करोड ८० लाख कमाएको चलचित्रले पहिलो हप्तामा ४ करोड ९५ लाखको कमाई गरेको निर्माण टिमद्वारा जारी रिपोर्टमा उल्लेख छ । यो कलेक्सन राजधानीभित्र र उपत्यकाबाहिरको जोडेर हो ।

चलचित्रले झन्डै ५ करोड कमाउँदा निर्माताको पोल्टामा चाहिँ कति पर्छ त ? वितरक करण श्रेष्ठ भन्छन्, ‘यो रकमबाट १६ प्रतिशत कर काटिन्छ । त्यसपछि ५०/५० प्रतिशत हलवाला र निर्माताले पाउँछन् । निर्माताले पाउने रकमबाट वितरकको कमिसन र सर्भरको काटेपछि बाँकी रहने रकम निर्माताको हुन्छ । ४ करोड ९५ मध्ये निर्मातालाई त्यस्तै १ करोड ८० लाख जति हात पर्न आउँछ ।’

काठमाडौंभित्र वितरणको जिम्मा लिएका करण पहिलो हप्ता जस्तै दोस्रो हप्तामा पनि चलचित्रले आक्रामक व्यापार गर्नेमा विश्वस्त देखिएका छन् । ‘दोस्रो हप्ताको पहिलो दिन पनि विहानको ११ बजेबाट देशभरका हलहरु हाउसफुल छन् । त्यसैले दोस्रो हप्तामा पनि चलचित्रले राम्रो कमाई गर्नेमा आशावादी छौं,’ उनले भने । अब नेपाली चलचित्र क्षेत्र पुरानै लयमा फर्किएको उनको दाबी छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय रहेको छ । एक स्टार गायक र एक नवोदित गायिकाबीचको प्रेम सम्बन्धको कथा वाचन गरेको फिल्मलाई सौरभ लामाले छायांकन गरेका छन् । गीतसंगीतले मेरुदण्डको रुपमा काम गरेको चलचित्रमा हरिहर शर्माको अभिनय बुलन्द छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu