विगत १२ वर्षदेखि अनामनगरमा नाटक मञ्चन गर्दै आइरहेको मण्डला थिएटर (नाटकघर) अब आफ्नो भवनमा सरेको छ । बिहीवार उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँबानेश्वरमा बनेको थिएटरको नयाँ भवनको उद्घाटन गरेका हुन् । उपराष्ट्रपति पुनले नयाँ भवनमा मञ्चन सुरु गरिएको नाटक ‘रोगन’ को पनि अवलोकन गरेका थिए ।

दुई सय सिट क्षमताको हल र बाल नाट्यकक्षसहित दुईवटा नाटक घर रहेको नयाँ मण्डला थिएटर ३० आना जग्गामा बनेको छ । नयाँ भवनमा नाटकघरसहित क्याफे, पुस्तकालय, पार्किङ र रेसिडेन्सी आवाससम्मको सुविधा उपलब्ध रहेका छन् भने आउटडोर पर्फमेन्स गर्न मिल्ने सुविधा पनि छ ।

भवनको उद्घाटन भएसँगै बिहीबारदेखि ‘रोगन’ नाटकको मञ्चन सुरु भएको छ । राजन खतिवडा निर्देशित नाटकलाई संयोग गुरागाईंले लेखेका हुन् । अहिले मण्डलासँग पाँचवटा नाटक पाइपलाइनमा रहेको बताइएको छ । मण्डलाको नयाँ भवन उद्घाटन कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।






