वजनदार आवाजका धनि रविङ तामाङको बोल्नै शैली बिल्कुलै फरक छ । उनको आवाज जस्तै फरक हुने गर्छन् उनले गाएका गीत । चलचित्रको अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय छन् । केही समय पहिले उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’ मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए ।
नेपालमा भने रविन तामाङ लामो समयपछि पर्दामा देखिँदैछन् ‘चिसो एष्ट्रे’ मार्फत् । तर, यो चलचित्रमा तामाङले अभिनय मात्र होइन गीत पनि गाएका छन् । उनकै शब्द तथा संगीत रहेको चलचित्रको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।
गीत सार्वजनिक कार्यक्रममा उपस्थित तामाङले चलचित्रले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए । ‘दिनेश (निर्देशक) ले बनाएको चलचित्रलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु,’ उनले भने । चलचित्रको टिम र कलेजका विद्यार्थीबीच अन्तक्र्रिया पनि भएको थियो ।

दिन्स पाल्पालीले निर्देशन गरेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका छ । गाउँबाट सहर (काठमाडौं) आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई चलचित्रले उठान गरेको छ । निर्देशक पाल्पालीका अनुसार, भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट चलचित्र प्रभावित रहेको छ ।
दिन्स पाल्पालीकै लेखन रहेको चलचित्रमा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको चलचित्रको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । चलचित्रमा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ ।


