विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका अभिनेता पुकार गौतम अभिनीत नयाँ चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ । मनोज अधिकारीले निर्देशन तयार भएको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको हो । यसैले यो चलचित्रमा पुकारले अभिनय गर्ने अवसर पाएका थिए । उनी यो चलचित्रले आफ्नो करिअर उठाउनेमा आशावादी देखिएका छन् ।

‘पर्पला’को प्रदर्शनपश्चात् आफ्नो अभिनय क्षमतालाई मुल्यांकन गरेर अरु निर्माताहरुले चलचित्रको अफर गरे नेपाल आएर काम गर्ने उनको योजना छ । अष्ट्रेलिया बसे पनि नेपाली कला क्षेत्रको मोहलाई विर्सन नसकेको बताउने उनी रोमान्टिक जनरामा आफूलाई एकदमै सजिलो लाग्ने बताउँछन् । यसअघि उनले दुई चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा अभिनय गरिसकेका छन् ।
उनी भन्छन्, ‘अष्ट्रेलिया नआएर नेपालमा नै बसेको भए नेपाली कला क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सकिन्थ्यो जस्तो लाग्छ । तरपनि समय मिलाएर चलचित्रमा अभिनय गरिरहेकै छु । दाजुबाट प्रभावित भएर कलाकारितामा आएको थिएँ । यसैले अभिनयप्रति मेरो बेग्लै खालको लगाब छ । भविष्यमा आफैं चलचित्र निर्माण गर्ने सोचमा पनि छु ।’ उनको नेपाल घर चितवन हो ।

भानु प्रतापको निर्माणमा बनेको ‘पर्पला’लाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा गौतमसँगै निखिला बुढाथोकी, रोजी पन्त, अष्ट्रेलियन कलाकार ओल्गा तमरालगायतको अभिनय रहेको छ । अष्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायांकन गरेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ । हरर जनरामा निर्माण भएको चलचित्रलाई अर्को वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।