चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको शुभकामना समेटिएको एक भिडियो सार्वजनिक गर्दै आउँदो भाद्र ३ गतेलाई निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । यो चलचित्रको कोरोना महामारीको समयमा दुई चरणमा छायांकन भएको थियो । चलचित्रले त्रिकोणात्मक प्रेमकथा भन्छ ।

सार्वजनिक भिडियोमा नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतले चलचित्रलाई शुभकामना दिएका छन् । परिक्षेद सेनको निर्देशनमा तयार भएको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
स्पट ब्वाईको रुपमा लामो समय काम गर्दै आएका राजु फुँयालको प्रस्तुति रहेको ‘प्रेमगन्ज’ चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा निर्माण भएको जानकारी प्राप्त छ । यसअघि भ्यालेन्टाइनको दिन निर्माण टिमले बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।


