अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गरेको नयाँ चलचित्र ‘चिसो एष्ट्रे’ आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट आफूले आत्मानुभूति गर्ने अवसर पाएको उनको भनाई छ । आइतवार पत्रकारहरुसँगको भेटघाटको क्रममा उनले भनिन्, ‘म आफूलाई भाग्यमानी ठान्छु कि शालिनता जस्तो चरित्र निर्वाह गर्न पाएँ । शालिनताको माध्यमबाट मैले धेरै कुरा सिकेको छु । आत्मानुभूति गर्ने अवसर पाएँ ।’

आफ्नो क्यारेक्टरले काठमाडौंको क्रियटिभ गल्ली र क्रियटिभ एक्सपेक्टलाई प्रतिनिधित्व गर्ने उनी बताउँछिन् । चलचित्रमा हरेक क्यारेक्टरको एउटा गल्ली रहेको र आफूले पुतली गल्लीको प्रतिनिधित्व गरेको उनको भनाई छ । चलचित्रबाट आफूले जीवनलाई थप नजिकबाट जान्ने र बुझ्ने अवसर पाएको बताउँदै उनी भन्छिन्, ‘हामी अरुलाई कस्तो व्यवहार गर्छौं, प्रायः हामी नकारात्मक मात्र देख्छौं तर जीवनमा सुन्दरता पनि छ भन्ने कुरा चलचित्रबाट सिकेँ ।’
कलाकारको रुपमा आफूले ‘चिसो एष्ट्रे’मा जत्ति मेहेनत हरेक चलचित्रमा गर्नुपर्छ भन्ने ठूलो पाठ सिकेको उनको कथन छ । ‘यत्तिको टिमवर्क, क्यारेक्टरमा यत्तिको रिसर्च र ध्यान चाहिँ दिनै पर्ने रहेछ भन्ने सिक्न पाएँ । यो चलचित्रबाट सिकेको कुरालाई मैले आत्मसात् गरेर अगाडि बढाइरहेको छु । ‘चिसो एष्ट्रे’बाट सिकेका कुराहरु म जीवनमा कहिल्यै विर्सन सक्दिनँ,’ अभिनेत्री सृष्टि श्रेष्ठले भनिन् ।

दिन्स पाल्पालीले निर्देशन गरेको चलचित्रमा सृष्टिसँगै दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल, रबिन तामाङलागयतको अभिनय रहेको छ । गाउँबाट सहर (काठमाडौं) आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई चलचित्रले उठाएको छ । महेशबाबु तिमल्सिनाद्वारा निर्मित चलचित्र भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित छ ।


