बैशाख १६ मा आउने भयो सौगात र दीयाको ‘मन्त्र’



तेस्रो चरणको कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गरेपछि माघ २८ गतेबाट प्रदर्शनमा आउन नसकेको चलचित्र ‘मन्त्र’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच आउँदो बैशाख १६ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको चलचित्रलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् ।

बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ छन् । हिमाली प्रेमकथा भनिएको चलचित्रमा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पसम्म पुगेर छायांकन भएको चलचित्रमा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । ‘मन्त्र’ एउटा अर्गानिक चलचित्र रहेको निर्देशक गुरुङले दाबी गरेका छन् ।

चलचित्रको प्रदर्शन मिति घोषणा कार्यक्रममा निर्माण टिमले सगरमाथा आरोहण गर्न लागेकी दीया पुनलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झन्डासहित फिल्मको पोस्टर हस्तान्तरण गरेको थियो । दीयाले सगरमाथाको चुचुरोमा राष्ट्रिय झन्डा र चलचित्रको पोस्टर फहराउने जानकारी दिइन् । यसै साता बेलायतबाट नेपाल आएकी उनी मे (बैशाख) मा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu