विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ विवाहको तयारीमा जुटेका छन् । हालै एक अन्तर्वार्तामा सृष्टिले आउँदो वर्ष २०७९ मा विवाह गर्ने योजना रहेको बताएकी थिइन् । मंगलवार एक कार्यक्रममा सौगातले पनि सृष्टिको कुरामा सहमति जनाए । अर्को वर्ष वा यसै वर्ष पनि बिहे हुने सम्भावना रहेको उनको भनाई छ ।

उनले भने- ‘सृष्टिले ‘विवाहको तयारीमा छौं’ भनेको कुरा सत्य हो । हामी २ वर्षदेखि नै विवाहको तयारीमा थियौं । तर, कहिले के नमिल्ने त कहिले के नमिल्ने भएर ढिलाई भएको हो । परिवारबाट विवाहको स्वीकृति भइसकेको छ । हामीले अर्को वर्ष नै विवाह गर्ने भनेर तयारी त गरेका छैनौं तर यसै वर्षको अन्तिमसम्म पनि विवाह हुन सक्छ । यस वर्ष नभए अर्को वर्ष चाहिँ विवाह हुन्छ ।’
सौगात र सृष्टिले चलचित्रमा एकसाथ काम गर्दै आएका छन् । उनीहरुले ‘मासु भात’, ‘लालपूर्जा’, ‘पोइ पर्यो काले’, ‘द सिक्रेट अफ राधा’, ‘माइकल अधिकारी’ लगायतका चलचित्रमा एकसाथ काम गरिसकेका छन् । कोरोना महामारीअघि सौगात सृष्टिको माता-पितासँग बिहेको कुरा गर्न यूके समेत गएका थिए । दुवै पक्षको परिवारले उनीहरुलाई विवाहको अनुमति दिइसकेको छ ।