एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरुले अदालतमा बहस गर्ने भएका छन् । अधिवक्ता मोहना अन्सारीले सामाजिक सञ्जालबाट पीडितको न्यायका लागि बहसमा जोडिन आग्रह गरेपछि २२ जना अधिवक्ताहरुले इच्छा देखाएका हुन् । अब उनीसहित २२ जना अधिवक्ताले नाबालिगको पक्षमा बहस गर्नेछन् ।

नाबालिगको पक्षमा मोहना अन्सारी, मिरा ढुङ्गाना, सुष्मा बाँस्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनिष कुमार श्रेष्ठ, केदार गुरागाईँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झाले बहस गर्न लागेका हुन् ।
नाबालिगले आफ्नो तर्फबाट अदालतमा बहस गर्नका लागि अधिवक्ता राधिका खतिवडालाई रोजेकी छन् भने पलको तर्फबाट विवि विष्टले वकालत गर्नेछन् । फागुन ११ गते नाबालिग गायिकाले तनहुँको प्रहरी कार्यालयमा पलविरुद्ध जबर्जस्ती करणाीको कसूरमा जाहेरी दिएकी थिइन् । अहिले प्रहरीले अदालतको अनुमतिमा पललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।