जुलाईमा हुने भयो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’



काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजनामा सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो

यसअघिका चारवटै संस्करणहरु अमेरिकाका विभिन्न राज्यहरुमा भएका थिए । सन् २०१६, २०१७ र २०१८ मा कोलोराडोको डेनभर शहरमा साथै २०१९ मा क्यालिफोर्नियाको सान्सफ्रान्ससिस्को शहरमा भव्य रुपमा अवार्ड सम्पन्न भएका थिए । विश्वमहामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन ।

अवार्डमा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान साथै अमेरिकामा रहेका फिल्मकर्मीलाई प्रोत्साहन तथा सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो । अवार्डको पाँचौ संस्करणलाई ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’ले प्रायोजन गरेको छ ।

यो अवार्डको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु भएको आयोजक संस्था ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । नेपाललाई फिल्म टुरिजमको हब बनाउन यो अवार्डले मुख्य भूमिका खेलेको श्रेष्ठको जिकिर थियो ।

‘नेपाललाई विदेशीहरुमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार वा परिचित गराउनु पनि यस कार्यक्रमको महत्वपूर्ण लक्ष्य हो । सो कार्यक्रममा विगतमा पनि हलीउडका निर्माता निर्देशकहरुलाई निम्ताउने गरिएको मात्र होइन, मन्चमा नै नेपाली वा विदेशी गीतमा विदेशीहरुबाट नृत्य प्रस्तुत पनि गरिएका उदाहरणहरु हामीमाझ छन्‌ । यसपटक पनि सो प्रयास निरन्तर रहने छ’, अवार्डका अध्यक्ष श्रेष्ठले बताए ।

नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

चाँडै अवार्डका लागि छनोट समिति गठन हुने बताइएको छ । ‘ग्लोबल फिल्म अवार्ड’ लाई शुभकामना दिनका लागि कलाकारहरु नीर शाह, शिव श्रेष्ठ, शर्मिला मल्ल, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल, सुर्य चन्द, दिनेश डिसी, चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । हरेक पटकको झैं यसपटक पनि अवार्ड निष्पक्ष हुने अध्यक्ष श्रेष्ठको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu