यूट्युबमा राजेश हमाल, काठमाडौंको मेयर बन्ने इच्छा व्यक्त



अभिनेता राजेश हमाल प्रविधिलाई त्यति चाँडो स्वीकार गर्दैनन् । आफ्नो जीवनमा त्यसको आवश्यकता र उपभोगिता महशुस गरेपछि मात्र उनले प्रविधिलाई अंगाल्ने गरेका छन् । कुनै बेला हरेक कलाकारहरुको हातमा मोबाइल हुँदा उनले भने लामो समयपछि मात्र त्यसको प्रयोग गर्न थालेका थिए । फेसबुकमा पनि उनी अरु कलाकारहरुभन्दा निकै ढिलो आएका हुन् ।

यतिबेला नेपाली चलचित्रका प्रायः कलाकारहरु यूट्युब प्लेटफर्ममा समेत सक्रिय बन्न थालेका छन् । यूट्युबमा भ्लगदेखि अन्तर्वार्तासम्म राख्ने कलाकारको ताँती ठूलो छ । यसैक्रममा, अभिनेता हमालले पनि यूट्युबमा डेब्यू गरेका छन् । उनले भ्लगको रुपमा आफ्ना गतिविधिहरुलाई दर्शकमाझ पस्किने उद्देश्यसहित ‘राजेश हमाल अफिसियल’ नाममा यूट्युब च्यानल खोलेका हुन् ।

बुधवार हमालले यूट्युबमा एक भ्लगको ट्रेलर अपलोड गर्दै काठमाडौंलाई सुन्दर बनाउने कुरामा कसैको ध्यान जान नसकेकोमा चिन्ता व्यक्त गर्दै ‘एकचोटी काठमाडौं शहरको मेयर बन्नु पर्छ कि क्या हो ?’ भन्दै जिज्ञासा राखेका छन् । राजेश हमालले आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा जानकारीमुलक एक ‘टक शो’ पनि चलाउने तयारी गरेको जानकारी प्राप्त छ ।

राजेश हमाल करीब चार वर्षपछि पर्दामा फर्किने तयारीमा छन् । उनले यस वर्ष चलचित्र ‘सत्यम्’ साइन गरेका थिए । चलचित्रका लागि ज्यान बनाउनदेखि स्क्रिप्टमा समेत उनी आफैं बसेका थिए । तर, कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेको छैन । चलचित्रको छायांकन सुरु नहुँदा हमालले म्यूजिक भिडियोमा अभिनय गरेर न्यास्रो मेटाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu