कोरोना महामारीका कारण तीन पटक सिनेमा हल बन्द भएर खुलेपछि फागुन दोस्रो साताबाट नियमित रुपमा चलचित्रहरु प्रदर्शनमा आउन थालेका छन् । फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’, फागुन २० गते ‘लप्पन छप्पन २’ प्रदर्शनमा आएपछि आज शुक्रवारबाट चलचित्र ‘आकाशे खेती’ ले प्रदर्शन सुरु गरेको छ ।

बक्सअफिसमा यो चलचित्रको भिडन्त साउथको हिन्दी डब चलचित्र ‘राधे श्याम’सँग भएको छ । साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र भएकाले नेपालका अधिकांश मल्टीप्लेक्सहरुले ‘राधे श्याम’लाई ठूलो शो दिएका छन् । ‘आकाशे खेती’लाई भने औसत शो मिलेको छ । शुक्रवारबाट साउथ सुपरस्टार सूर्या अभिनीत चलचित्र ‘इटी’ पनि प्रदर्शनमा आएको छ ।
उदय सुब्बा निर्देशित ‘आकाशे खेती’मा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा र शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयलाई चलचित्रले उठाएको छ । चलचित्रमा विल्सनको पटकथा तथा संवाद छ ।


