नाटकबाट अभिनय सुरु गरेका कलाकार दिव्य देवका ‘ह्यामलेट’, ‘लुक ब्याक इन एंगर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेक्स्ट इयर’ जस्ता नाटक सम्झनलायक मानिन्छन् । नाटकसँगै उनले केही चलचित्रमा पनि काम गरेका छन् । नाटकमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहँदा उनले चलचित्र ‘चिसो एष्ट्रे’मा अभिनय गरेका थिए । निर्माणको करीब ७ वर्षपछि आउँदो चैत ४ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

‘चिसो एष्ट्रे’मा दिव्यले गाउँबाट शहर पसेको मदनको चरित्र निभाएका छन् । मदनको चरित्र र आफ्नो जीवन भोगाईबीच धेरै समानता रहेको उनको भनाई छ । ‘२०६० सालमा म बैतडीबाट काठमाडौं पसेको थिएँ । यहाँ आएपछि मेरो जीवनमा जस्ता परिवर्तनहरु आए मदनको पनि त्यस्तै एउटा कथा छ । गाउँबाट शहर छिर्ने हरेकको भोगाईसँग मदनको भोगाई मिल्न सक्छ,’ उनले भने ।
उनी ‘चिसो एष्ट्रे’लाई आफ्नो लक्की चार्म पनि मान्छन् । उनी भन्छन्, ‘सन् २०१४/१५ सम्म म आफैं दोधारको अवस्थामा थिएँ । कुन रोलमा म सुहाउँछु भन्ने समेत थाहा थिएन । जब ‘चिसो एष्ट्रे’मा काम गरेँ धेरै बुझ्न पाएँ । यो चलचित्र गरेपछि मैले थिएटरहरुमा पनि राम्रो नाटकहरु गर्न थालेँ । मैले ‘रुदाने’ चलचित्रको अफर पनि यही चलचित्रपछि पाएको थिएँ । यसअर्थमा यो चलचित्र मेरो लक्की चार्म हो ।’
चलचित्रमा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । दिन्स पाल्पालीले निर्देशन गरेको चलचित्रको निर्माण महेशबाबु तिमल्सिनाले गरेका हुन् । भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’बाट प्रभावित भएर निर्माण भएको चलचित्रले गाउँबाट सहर (काठमाडौं) आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई उठाएको छ ।