किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिको बारेमा एक दिने कार्यक्रम आयोजना गरेको छ । नेपाल चलचित्र विकास बोर्डको प्रेक्षालयमा दिनभर चलेको कार्यक्रममा चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमा छलफल गरिएको थियो ।

कार्यक्रममा अधिकांश सहभागीले चलचित्र तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमाउ नीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए । ब्रिटिश काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविधि कार्यक्रममध्ये एक दिन वुमन अफ दिन वल्र्ड फेस्टिभलअन्तर्गत ‘फिल्म डे’को रुपमा मनाउने निर्णय गर्दै चलचित्रमा महिलाको भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको पहिलो सेसनमा ७ जना महिला चलचित्रकर्मीले बनाएको छोटा चलचित्र देखाएर तीमाथि छलफल समेत गरिएको थियो । उक्त कार्यक्रममा प्लान नेपालीकी रक्षा पौडेल, निर्देशक शान्ता नेपाली, नेपाली टेलिभिजनकी कार्यक्रम निर्माता नीता सापकोटा, ओनियन फिल्मका सह संस्थापक सुरत गिरी, पत्रकार तथा समीक्षक सामीप्यराज तिमल्सेना लगायतको सहभागिता रहेको थियो ।

छलफलमा सहभागी अधिकांश चलचित्रकर्मीले आफूहरूले संस्थागत रुपमा अडियो भिज्युवल प्रडक्सनमा महिलाको सहभागिता बढाउने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराएका थिए । अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म चलचित्र क्षेत्रमा सोचेको जस्तो गरी महिला सहभागिता बढाउन नसकिने धारणा राखेका थिए ।


